विश्व यतिबेला जलवायु परिवर्तनका कारण वातावरणीय चुनौतीहरूमा मात्र रुमलिएको छैन, सँगै सामाजिक एवं अर्थतन्त्रका अनेक चुनौतीको सामना गरिरहेको छ। विषय वा क्षेत्र फरक भए पनि यी तीन आपसमा अन्तरसम्बन्धित छन्। यहींनेर विकास अध्ययन आवश्यक देखिन्छ। यदि विश्वमा भएको समग्र विकासको पूर्वयोजना हुन्थ्यो, त्यसको गहिराइमा पसेर काम हुन्थ्यो वा सो कार्यका लागि योग्य र दक्ष जनशक्ति हुन्थे अनि दिगो विकासको प्रक्षेपण गरेर काम हुन्थ्यो भने यी समस्या पक्कै सामना गर्नुपर्ने थिएन आज।
गरिबी, असमानता, शासनजस्ता विश्वव्यापी मुद्दाहरूको मूल्यांकन गर्ने हो भने सबैजसो मुलुकमा अनेक समस्या भेटिन्छन् नै। तर, सामाजिक एवं आर्थिक मामिलामा स्थिरता कायम गर्दै आर्थिक वृद्धिलाई सन्तुलित गर्न सकियो भने यी मुद्दाले फैलिने अवसर नै पाउँदैनन्। यसका लागि विकास अध्ययन आवश्यक छ, जसले विकासका रणनीतिहरूलाई निश्चित आकार दिन्छन् र राजमार्ग तय गरी विकासका अनेक क्षेत्रमा परिणामहरू प्रदान गर्छन्।
समग्र विकासमा विकास अध्ययनको भूमिका : कुन राष्ट्रले कसरी विकास गरे भनेर जान्नु बुझ्नु एउटा पक्ष। जुन सीधा तरिका हो तर कुन कुन राष्ट्रले विकासका क्रममा के कस्ता अवरोधको सामना के कसरी गरे भन्ने बुझ्न सकियो भने विकास रणनीतिहरू बनाउन र दिगो विकास गर्न सहज हुनेछ। जसका लागि सोहीअनुसार भूगोल, राजनीति, परियोजना व्यवस्थापन, सहरी योजना, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरणीय नीतिनियम, समाजशास्त्र, दिगो विकास व्यवस्थापन र विकास–अर्थशास्त्र आदिको अध्ययन गर्ने गराउने काम हुन्छ। यसबाट देशको दिगो विकासका लागि दक्ष जनशक्ति तयार पार्न सहज हुनेछ। धेरैले जीडीपी बढाउनुलाई विकास बुझ्छन्। तर नागरिकको गुणस्तरीय जीवनशैली, उसले पाउने सामाजिक न्याय, आर्थिक रूपमा अब्बल र भावी पुस्ताका लागि प्राकृतिक स्रोतहरू एवं सांस्कृतिक (सम्पदासमेत) रूपमा गर्व गर्न सक्ने आदि आधार तयार पार्नु समग्र विकास हो। यो यही अध्ययनले बताउँछ।
आमबुझाइबारे बहस गर्ने हो आर्थिक वृद्धि नै विकासको अब्बल सूचक हो। तर, होइन। खासमा विश्व परिवेश चिहाउने हो भने यतिबेला विकास अध्ययनले ‘विकासको बहुआयामिक प्रकृति’मा ध्यान केन्द्रित गरिरहेको छ। आर्थिक वृद्धिमात्रैले त आज विश्वले सामना गरिरहेका समस्याहरूको जरोमा पुगेर समाधान गर्नै सक्दैन। हेर्दाहेर्दै यतिबेला विभिन्न किसिमका प्रदूषण, वन विनाश र जलवायु परिवर्तनले निम्त्याएका जोखिमहरूले दिगो विकास (समृद्धिसमेत)का आधारहरूलाई कमजोर पारिरहेका छन्। विकास अध्ययनहरूले यी सबैलाई सम्बोधन गर्न सक्छ भनेर सन् १९९७ मा रोबर्ट च्याम्बर्सले ‘हुज रियालिटी काउन्टस् ? पुटिङ द फस्ट लास्ट’ शीर्षकको लेखमा लेखेका छन्।
घटना अध्ययन (केस स्टडिज)हरू जसले सिकाउँछ ‘ग्लोबल साउथ’बाट पाठ: नेपालसँगै बंगलादेश, केन्या आदि देशहरू जो विकासको अभ्यास गरिरहेका छन्, जसबाट विश्वका देशहरूले पाठ सिकिरहेका छन्। ग्लोबल साउथमा पर्ने यी र अन्य देशले गरिबी र वातावरणीय ह्रासजस्ता जटिल समस्यालाई सामना गर्न गरिरहेको प्रयास राम्रो मानिएको छ। जसले स्थानीय रैथाने ज्ञानलाई वैज्ञानिक विशेषज्ञतासँग मिसाउँदै समुदायमा आधारित रणनीतिहरू तय गरी लागू गरेको पाइन्छ। सन् २००७ मा एन. श्रेष्ठ र पी. म्याक्मानुसले ‘द पोलिटिक्स अफ कम्युनिटी फरेस्ट्री इन नेपाल: पर्सिस्टेन्स एन्ड चेञ्ज इन कम्युनिटी बेस्ड नेचुरल रिसोर्स मेनेजमेन्ट’ शीर्षकमा लेखेका छन्, ‘…जस्तो, नेपालको सामुदायिक वनसम्बन्धी पहलले स्थानीय समुदायहरूलाई उनीहरूलाई वन स्रोतहरू व्यवस्थापन गर्न, दिगो जीविका प्रवद्र्धन गर्न र वातावरण संरक्षण गर्न योगदान गरेको छ।’
नीति निर्माणमा विकास अध्ययनको भूमिका: काम गरेरमात्र सही परिणाम मिल्छ भन्ने छैन। सही सोच, सोचलाई सही आकार, समयमै भाविष्यका सम्भावना र समस्या विचार गरेर बनाउने योजना वा ल्याउने आयोजना र कार्यशैलीमा ‘स्मार्टनेस’ आदिले मात्र समयमै र गुणस्तरीय परिणाम हासिल हुने हो। यसका लागि विकास अध्ययनको भूमिका अपरिहार्य हुन्छ। यसैबाट नीति निर्माणमा सहयोग पुग्छ। विकास अध्ययनहरूले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा नीति निर्माणलाई सूचित गर्छन्।
विकासका विभिन्न ‘मोडेल’को विश्लेषण गर्ने, अनुसन्धानमार्फत समतामूलक विकासलाई बढावा दिने आदि अनेक काममा मार्गप्रशस्त गर्न यस अध्ययनको महŒव मानिन्छ। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरू (एसडीजीज)लाई आकार दिन मुख्य भूमिका खेलेको पाइन्छ। सन् २०३० सम्म एसडीजीजमार्फत यसको १७ नम्बरमा गरिबी उन्मूलन गर्ने, शान्ति प्रवद्र्धन गर्ने र वातावरणीय दिगोपनलाई सुनिश्चित गर्ने विश्वव्यापी उद्देश्य राखेको छ। विकास अनुसन्धानकर्ताहरूले शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुख्य सूचकको तथ्यांक विश्लेषण गरेर नीति निर्मातालाई सहयोग पु¥याइरहेका छन्।
विकासका समस्याहरू र विकास अध्ययनको भविष्य: विकास अध्ययनले विश्वव्यापी विकासलाई महŒवपूर्ण प्रभाव पारेको देखिन्छ। कुन देशका लागि कस्तो विकास ढाँचा (डेभलपमेन्ट मोडेल) तय गर्ने भन्ने प्रश्नको मूल आधार नै विकास अध्ययन हो। गहन र व्यापक अनुसन्धानबिना कुनै पनि देशले आफ्नो विकास ढाँचा तय गर्न सक्दैनन्, गरिहाले भने पनि त्यो दिगो विकासभन्दा बाहिर हुनेछ। थुप्रै देश असफल हुनुको एउटा कारण पश्चिमी देशको विकासलाई जस्ताको तस्तै लागू गर्नु नै हो। आफ्नो देशको भूगोल, इतिहास, संस्कृति, समाज र अर्थव्यवस्था आदिको अध्ययन र अनुसन्धान नै नगरी विकास ढाँचा तय गर्नु सरकार प्रमुख असफल हुने कारक हो, देश असफल हुने कारक हो। जसलाई सम्बोधन गर्न थप समावेशी दृष्टिकोणसँगै स्वदेशी ज्ञान र स्थानीय समाधान पनि चाहिन्छ, यो विकास अध्ययनले दिन्छ।
यसबाहेक विकास अध्ययनले लेखको सुरुमा भनिएका सबैजसो चुनौतीसँग अनुकूलन हुन सिकाउँछ। साथै, नवीन अनुसन्धान विधिहरूबाट एकीकृत पहल र प्रयासमार्फत आफ्ना र आमसमस्या समाधान गर्न विकास अध्ययन आवश्यक देखिएको छ जसले विभिन्न देशलाई विभिन्न नयाँ दृष्टिकोणहरू प्रदान गरिसकेको छ। नेपालको सन्दर्भमा विकास अध्ययन कमजोर देखिन्छ। दिगो विकास गर्न अनुसन्धान अत्यावश्यक छ भन्ने आमबुझाइ हुनुपर्ने, अझ सरकारको नेतृत्व गर्नेहरूलाई बढी महसुस हुनुपर्नेमा त्यो हुन सकेको छैन। वर्तमानको गलत भाष्य चिर्न पनि नेपालका क्याम्पस र विश्वविद्यालयहरूमा विकास अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था छ। धन्य, नेसनल कलेज, काठमाडौंले २५ वर्षदेखि यो ‘विकास अध्ययन’ कोर्सलाई निरन्तरता दिइरहेछ। जुन कोर्स पढ्न जर्मनी, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तानलगायत देशका विद्यार्थी आउनु नेपालकै लागि गौरवको विषय हो। कम्तीमा यसले उत्पादन गरेका सयौं विद्यार्थीले विभिन्न क्षेत्रको प्रतिनिधित्व गरेर विकासका आयाममा इँट त थपिरहेका छन्।
निष्कर्ष: हरेक देशलाई दिगो विकास चाहिएको छ। अझ ‘ग्लोबल भिलेज’को अवधारणाले सबै देश एउटै गाउँमा परिणत भइरहँदा अब हामीले साझा मुद्दालाई समातेर दिगो विश्वको परिकल्पना गरेर अघि बढ्नुपर्ने देखिन्छ। विभिन्न देश र तिनका समाजले सामना गरिरहेका नयाँ नयाँ चुनौतीहरूको सामना गर्न विकास अध्ययनले दिने नयाँ दृष्टिकोणले पक्कै पनि तत्तत् देशका नागरिक लाभान्वित हुनेछन्। नेपालले पनि विश्व परिवेश नियाल्दै देश विकास कसरी गर्ने अनि आफूलाई कहाँ र कसरी राख्ने ताकि विश्वको आँखा नेपालमा परोस् भन्ने टुंगो लगाएर तत्काल सोहीअनुसार कार्ययोजना बनाउँदै समग्र विकास गर्नुपर्ने हुन्छ।